पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ

 २०७५ असोज ५ शुक्रबार

सावित्री सुवेदी

पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ

कुनै समय थियो– राणा युग ।

आमा–दिदीबहिनीलाई ज्युँदै सति पठाउने प्रचलन थियो भनेर सदियौँसम्म सरापिरह्यौँ । तत्कालीन व्यवस्थाप्रति असहमति राख्दै आन्दोलनमा होमियौं । फलस्वरूप राणा युग इतिहासको गर्तमा विलय भयो ।

त्यसपछि आयो पञ्चायत युग । त्यसले पनि छोरी, चेली आमा–दिदीबहिनीमाथि न्याय दिन सकेन । नमिता–सुनिताको इज्जत लिलाम गरेर सेतीको खोँचमा बगाइयो ।त्यसलाई फेरेर ल्याइएको बहुदलले पनि आम नारीलाई अलमलमै राख्यो ।

न्याय–इन्साफ दिएन ।

जनयुद्ध, ०६२–६३ को आन्दोलन हुँदै गणतान्त्रिक युगमा आइपुग्दा पनि महिलाका आँखा ओभाएका छैनन् ।

एकपछि अर्को बलात्कार, यौन हिंसाका घटना नरोकिएपछि केही दिन मैले प्रतीकात्मक विरोध गरेँ । पेटिकोट लगाएर सडकमा निस्कँदा यो राज्यलाई निकै ‘भल्गर’ लागेछ । पक्रन उर्दी जारी गर्यो ।

कञ्चनपुरीकी १३ वर्षीया निर्मला पन्त निर्वस्त्र उखु झाडीमा फेला पर्दा लज्जाबोध नगरेको यो राज्यलाई हाम्रो पेटिकोट ‘अश्लीलता’ को पर्याय लागेछ ।

सिंहदरबारबाट बाहिरै ननिस्कने सरकारलाई के थाहा ? लुगा लगाएर न्यायको आवाज उठाउँदा कानमा तेल हालेर बसेपछि पेटिकोट लगाएर निस्कनु हाम्रो बाध्यता हो ।
पेटिकोट लगाएर सडकमा निस्कँदा सरकारलाई मात्रै होइन, कतिपय बौद्धिक भनिनेहरूलाई समेत लाज लागेछ । कोक्राका शिशुदेखि वृद्धालयमा हजुरआमासम्म बलात्कृत हुँदा नदुखेको तिनको छाती हाम्रो प्रदर्शनीले चरचरी चिरिएछ । 

सत्ताको तर चाटेर मस्त तिनीहरूको बल्ल चक्षु उघ्रिएछन् । कान ठाडा भएछन् ।

किन भयावह बन्दैछ अपराध ?
गत आर्थिक वर्षमा मात्रै १४८० बलात्कारका घटना भए । पछिल्लो ६ वर्षको तथ्याङ्कलाई केलाउने हो भने राज्य–व्यवस्था, नियम–कानुन क्रमशः विफल बन्दै गएको उदाहरण खोज्न टाढा जानु पर्दैन । र, निष्कर्ष निकाल्दा हुन्छ– मौजुदा नियम कानुन र सरकार छोरी जोगाउन असक्षम भइसक्यो ।

देशको सुदूरपूर्वी कुनादेखि महाकालीसम्म कहीँ पनि छोरीचेली सुरक्षित छैनन् । 

स्कुल गएकी छोरी कतिबेला हिलोमा गाडिएकी अवस्थामा फेला पर्ने हो ? कोक्रोमा खेलिरहेकी बालिका कतिबेला रक्तमुच्छेल हुने हो ? कार्यक्षेत्रमा गएकी युवती सग्लै घर आउने हो कि होइन ? अभिभावक त्राहित्राहि हुनुपर्ने अवस्था छ ।

 तराईबासी भएकाले केही मेरा अनुभव छन् । पाँच वर्षको अन्तरालमा त्यस्ता थुप्रै केसमा मेरो आँखा पुगेको छ ।

बलात्कार सभ्य समाजको कलंक हुँदै हो । तर, पछिल्लो समय यौनजन्य हिंसाको अंकमा जसरी बढोत्तरी आइरहेको छ, त्यसले चिन्तित र दुःखी पनि तुल्याएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि जति दक्षिण झर्नुहुन्छ, उति, गरिबी, अभाव र विपन्नता भेट्नुहुन्छ ।

भूमिहीन, आवासविहीन त छँदैछन्, बलात्कारका घटना पनि त्यही बढी हुन्छन् ।

तराई–मधेसमा अझै पनि धेरैका घरमा शौचालय छैनन् । साँझ–बिहान, झाडी, खाडी, खोला, खोल्सी जान अभिशप्त छन् ।  कुकृत्यका लागि मौका पर्खिरहेका, बाटो ढुकिरहेका र गौँडा बथानिरहेकाहरूलाई सुविधा मिलेको छ । पछिल्लो समय तराईमा घटेका बलात्कारका घटना हेर्नुहोस्– ती रात, बिहान र साझँपख घटेका छन् । त्यो पनि दिसा–पिसाब गर्न जाँदा । त्यसबाहेक तराईमा बलात्कारको घटना मौलाउनुको अर्को कारण हो, गरिबी ।

पीडिकहरू माथिल्लो वर्गका र पीडित प्रायः तल्लो वर्गका पर्ने गरेका छन् । गरिबीले घाँटी अँठ्याएका उनीहरूले कथित् उपल्लो, जात, आर्थिक हैसियत बनाएकासँग सिँगौरी खेल्नै सक्दैनन् । मिलापत्र गर्न अभिशप्त छन् ।

हाम्रो सामाजिक संरचना त्यस्तै छ । बलात्कारी पुरुष छाती फुकाएर हिँड्छ । बलात्कृतहरू अपराधीझैँ जीवनभर मुन्टो लुकाएर बस्नुपर्छ । बिहाबारीसमेत हुँदैन । सामाजिक जीवनमा फर्कनै सक्दैनन् ।

त्यसैले धेरैजसो घटना बाहिर आउँदैनन् । पीडकसँग मिलापत्र गरेर ढाकछोप गर्छन् । त्यसमा भूमिका खेलेका छन्– गाउँका गन्यमान्य, राजनीतिज्ञले ।देशबाट पो पञ्चायत हट्यो । तराई–मधेशमा अझै छ । त्यहाँको मुखियाले जे भन्यो, त्यहाँका पीडितहरु मुन्टो निहु¥याउँदै हस् भन्छन् । र, पञ्चायतका अधिकांश फैसला पीडकका पक्षमा हुने गर्दछन् ।

“हामी तेरो छोरीको बिहे पनि गर्दिन्छौँ । यति पैसा लिइ, प्रहरीकहाँ उजुरी दिन नजा,” प्रायः मुखियाहरूले पीडितलाई यसै भन्ने गर्छन् ।
सामाजिक इज्जत, गरिबी, निर्धनता र अभावको बोझले थिचिएका पीडित हुन्छ भन्ने तहमा पुगिहाल्छन् । यसले बलात्कारीको मनोबल दिनहुँ बढाइरहेको छ ।

यसमा कमी नवगठित स्थानीय तहलेसमेत ल्याउन सकेका छैनन् । कतैकतै त वडाध्यक्ष, गाउँपालिका, नगरपालिकाका निर्वाचित पदाधिकारी पनि बलात्कारजस्तो फाँसीजन्य घटनाको मिलापत्र गराउन लागिपरेको घटना बाहिर आउन थालेको छ ।

घरभित्रै सुरक्षित छैनन् छोरी
हाम्रो सामाजिक सम्बन्धका सबै सीमा भत्किइसकेका छन् । अनुशासन धुलाम्य भइसक्यो । समाज कर्तव्यबाटमात्रै होइन, नैतिकताबाटसमेत च्यूत हुँदैछ ।
यसको ज्वलन्त उदाहरण हो– छोरी घरभित्र सुरक्षित छैनन् ।

प्रहरीको तथ्याङ्कले पनि देखाएको छ– ६० प्रतिशत बलात्कारका घटना चिनजान र नजिककै आफन्तबाट भएको छ ।केही दिनअघि म कोहलपुर पुगेकी थिएँ । त्यहाँ एकजना हजुरबुबाले तीन वर्षदेखि नातिनी बलात्कार गर्दै आएका रहेछन् ।

आमाले छाडेको, बाबुले अर्को बिहे गरेको, अवस्था निकै टीठलाग्दो थियो । प्रलोभनमा पार्न सजिलो हुने र डरत्रास देखाउन पनि पाइने । प्रायः हाडनाता करणीमा प्रहरीले प्रायः यही कारण ठम्याउँछ ।

मदिरा अर्को कारण
बलात्कारजस्तो गम्भीर प्रकृतिको सामाजिक अपराध बढाउने अर्को कारक तत्व हो– मदिरा ।

हाम्रो सामाजिक संरचना, परम्परा र मूल्यमान्यताले गर्दा पनि मदिराजन्य पदार्थ सामान्य भइसक्यो । पर्व, उत्सव, विवाहमात्र होइन, चूडाकर्ममा समेत रक्सी खपत हुने संस्कारै बसिसक्यो । यसले पनि बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसामा बढोत्तरी ल्याइरहेका छन् ।

तराई–मधेसमामात्रै होइन, पहाडतिर पनि रक्सी खाएर आएर श्रीमतीलाई दुर्व्यवहार गरेको घटना घरैपिच्छे भेटिन्छ । त्यसैले खुलम्खुला मदिरा बिक्रीवितरणमा रोक लगाउने हो भने सामाजिक अपराधमा कमी ल्याउन सकिन्छ ।

प्रहरी नै पीडकको पक्षमा
न्याय निरुपणमात्र होइन, अपराध अनुसन्धान पनि पीडितमैत्री बन्न सकेको छैन । निर्मला पन्तकै केसलाई उदाहरणका रूपमा लिन सकिन्छ । बलात्कारको उजुरी लिएर प्रहरीकहाँ गयो, दर्ता नै गर्न मान्दैनन् । कतिपय अवस्थामा किटानी जाहेरी दिँदासमेत अपराधी पक्राउ नपरेको घटना पाँच वर्षे कार्यअवधिमा मैले बग्रेल्ती भेटेको छु ।

त्यसबाहेक पीडित आफैँले दसी–प्रमाण जुटाउनुपर्ने बाध्यता छ । जाहेरी लिएर गयो, दर्ता शाखादेखि हाकिमको टेबलसम्म बयान दिँदादिँदा पीडित वाक्क हुन्छन् र दर्ता गर्नै जाँदैनन् ।
त्यसकारण अपराधका घटना किन कमी आएनन् ? एउटा प्रश्न हुन सक्छ । तर, यससँग जोडिएका अनेक कारण नखोतली, नकेलाई निष्कर्षमा पुग्न गाह्रो हुन्छ ।

फाँसी : एक बहस
कर्तव्यज्यानमा पीडित एकपटक मर्छ तर बलात्कृत महिला, छोरी–चेली त पटकपटक मर्छे, जीवनभर मर्छे । अतः यसप्रकारको घटनाका दोषीविरुद्ध राज्य निर्मम बन्नैपर्छ, कठोर हुनैपर्छ ।

हामीले देखेका छौँ– मौजुदा कानुन कार्यान्वयन प्रणाली । गम्भीर अपराधमा जेल परेका पनि सरकारबाट माफी पाएका, अदालतले सफाइ दिएका । यता जेल परेको बलात्कारी सामाजिक जीवनमा फर्किहाल्छ । उता पीडित जीवनभर आँसुको आहालमा डुबुल्की मार्नुपर्छ ।अतः बलात्कारमा दोषी देखिएकालाई दण्डित गर्न मौजुदा कानुन पर्याप्त छैन । बलात्कारीलाई फाँसी नै आजको उत्तम विकल्प हो । यसबारे पर्याप्त बहस र छलफल भने आवश्यक छ । स्रोत   बाह्रखरी बाट 

(सुवेदी बलात्कारविरुद्धकी सामाजिक अभियन्ता हुन्)

प्रतिकृया दिनुहोस

गाउँतिर फर्क ( सम्पादकीय)

सरकारका नीति तथा योजनाहरु शहरमुखी भएका कारण विकासमा गाउँ पछाडि परेका छन् । देशमा संघीयताको कार्यान्वयन भैसकेको तथा संघीय, प्रदेश तथा स्थानीय सरकार

यसकारण घट्दै छ सरकारको लोकप्रियता

विश्लेषक संग्रौलाले निर्मला पन्त हत्या प्रकरणमा सरकारले देखाएको उदासीनतालाई ‘निर्लज्जता’को संज्ञा दिए । ‘यो निर्लज्ज घटना हो । सत्ताधारी

कागतीका बोक्रा नफ्याँक्नुस्, हुन्छ असाध्यै गुणकारी

    काठमाडौं, २१ वैशाख  गर्मीमा मानिसहरू अत्यधिक कागती सेवन गर्छन् । पौष्टिक गुणहरूले भरपूर कागतीले शरीरलाई अनेकौं रोगबाट टाढा राख्छ ।