पैसा हुने र नहुनेबीचको सङ्घर्ष ‘चङ्गा चेट’

 

 

कात्तिक २०, २०७५ 

थोरै कलाकार र सानो क्यानभासमा त चलचित्र राम्रो भइहाल्छ नि । धेरै कलाकार राखेर चलचित्र राम्रो बनाउन कहाँ सजिलो छ र ? भद्रगोल कलाकार थोपारेर चलचित्र बिगार्ने निर्देशकले दीपेन्द्र के खनाललाई भन्ने गरेका थिए । ती निर्देशकका लागि दबिलो झापड हो चलचित्र ‘चङ्गा चेट’ । ठूलो क्यानभास र धेरै कलाकार राखेर पनि उनले चङ्गा चेट सफल अवतरण गर्न सफल छन् । 

उज्ज्वल भविष्य निर्माण गर्न उच्च शिक्षाका लागि राजधानी पसेका ३ युवाको कथामा निर्माण भएको छ चलचित्र । तर तीनै युवाको अध्ययनको उद्देश्य भने बेग्ला बेग्लै छ । 

यीमध्ये उदितनारायण झा (रवीन्द्र झा) ले मधेशको प्रतिनिधित्व गर्छ, उसले मधेशी युवाको रहनसहन, प्रवृत्ति, उसको भाषाशैली, व्यवहार र मधेशमा प्रचलित कूप्रथाको समेत (बीए पास गरे दहेज २५ लाख पुग्ने) जस्ता पक्षलाई प्रकट गर्छ ।

अरू दुई थमनबहादुर थापा (सन्दिप क्षेत्री) र निरज (आयुष्मान देशराज जोसी) पहाडी मूलका पात्र छन् । जसले पाहाडी समुदायको प्रतिनिधित्व गर्छन् ।

तीनैजना पात्र आफ्ना अभिभावक र आफ्ना उद्देश्य पूरा गर्न अध्ययनका लागि काठमाडौँ छिरेका छन् । उदितनारायण विवाहमा दाइजो बढी प्राप्त गर्ने अभिलासाले एमए पढ्ने लक्ष्यका साथ बीए पास गर्न, निरज हिरो बन्ने उच्च आकाङ्क्षा पूरा गर्न र थमनबहादुर बीए पास नगरी प्रेमिका (परमिता एल.आर राणा)को अभिभावकले विवाह नगरिदिने भएर बीए पढ्न उपत्यका पसेका छन् ।

एक दुर्घटनाले साथी बनेका यी तिनै पात्रको उद्देश्य प्राप्तीमा पैसाको अभाव देखिन्छ । आफ्ना उद्देश्य पूरा गर्न पैसा प्राप्तीका लागि गर्ने सङ्घर्ष र पैसा प्राप्त भएपछि ती ३ पात्रको जीवनमा आउने उतारचढावमा छ चलचित्र ।

तर यी तिनै जनाको उद्देश्य पूर्ण भएको देखिँदैन । अथवा फिल्म बनाउने र हिरो हुने प्रसङ्ग अन्त्यमा देखाउन खोजिएको छ तर ती पात्र हिरो बन्न सकेका छन् या छैनन् भन्ने छुट्याउन आफै पूरा चलचित्र हेर्नुपर्ने हुन्छ ।

राम्रो पक्ष
चलचित्रमा आमाबुबाप्रतिको प्रेम, वात्सल्यप्रेम, युवायुवतीप्रतिको प्रेम प्रशस्त पाइन्छ । यौन मानवजीवनको अभिन्न आवश्यक वस्तु हो भन्ने कुरा वर्तमान समयमा लुकाएर लुकाउन सकिने अवस्था छैन । यस विषयलाई चलचित्रले मज्जैले दिएको छ चाहे त्यो भिलेनको रुपमा (डीएस्पी अर्की प्रमिकासँग लाग्नु, डीएस्पीकी अर्धाङ्गीनीले भाडाको रुपमा भए पनि शारीरिक आवश्यकता पूरा गर्नु, मुख्य भिलेनले आफ्नी जीवनसङ्गीनीलाई घर निकाला गरेर कल गर्लसँग सहवास गर्नु आदि) भए पनि दर्शकमाझ यौनको सन्तुष्टिलाई छचल्क्याएको छ ।

चलचित्रले अब हाम्रो समाजलाई शारीरिक आवश्यकता परिपूर्तिका लागि पुरुषले मात्र कर्लगर्ल प्रयोग गर्ने होइनन्, नारीले पनि कल ब्वाई प्रयोग गर्न सक्छन् भन्ने झट्का दिएको छ । तर त्यसको नतिजा चाहिँ दुखान्तक हुन्छ भन्ने सन्देश समेत ।

निम्न वर्गीय आर्थिक सामाजिक अवस्थाको चित्रण गरेको चलचित्रले पैसा हुने र नहुने बीचको खाडलसमेत देखाउने प्रयास गरेका छ । 

समाजको सुरक्षा लिएका केही प्रहरीले पदको कसरी दुरुपयोग गर्न सक्छन् भन्ने समेत चलचित्रले खोतलेको छ । 

चलचित्रका पात्रहरु सामान्य जनजीवनका भएकाले सरल भाषाशैली प्रयोग छ । चलचित्रका केही संवाद द्विअर्थक छन् । केटी हेर्न आएका थिए भने देखाइ दे न, उसको म पसिना निकाल्छु, तैले बीए पास गरिनस भने अरुले नै ठोक्छ, जस्तो भाषाले दुईवटा अर्थ दिएका छन् । 

नेवार घरबेटीका अभिव्यक्तिमा नेवारी लवाज (ट ट, पर्यो नि) आएको छ । रिस र झोँकको अवस्थामा ठाउँमा युवा पात्रले अश्लील शब्द बोलेका तापनि त्यो कथालाई जीवन्त तुल्याउनका लागि मात्र । 

सुरुदेखि अन्त्यसम्म नै हाँस्यव्यङ्ग्यले भरिएको चलचित्रले दर्शक मज्जैले हसाउन सक्छ । 

कमजोरी
बीए अध्ययन गर्ने भनेर त्रिविको केन्द्रीय क्याम्पसको परिवेश, त्यहाँका कक्षाकोठा र भवनहरु देखाइएको छ तर त्यहाँ एमए मात्र पढाइ हुन्छ । यसबाट दर्शकहरूमा केही भ्रम पर्छ । नेपाली समाजमा युवाहरू कस्तो अवस्थाबाट गुज्रिएको छ भन्ने देखाएको छ । त्यस क्रममा एक मधेशी पात्र, एक प्रावि शिक्षकको छोरा र एक लाहुरेको छोराको आर्थिक अवस्था देखाइएको छ । तर पारिवारिक अवस्थाका बारेमा घरभित्रको परिवेशलाई देखाइएको छैन । प्रत्येक समुदायलाई आफ्नो संस्कार र संस्कृतिप्रति प्रेम हुन्छ, झुकाव हुन्छ । यहाँ प्रयोग भएको मधेसी पात्रले यस समुदायको नेपाली भाषा प्रयोग गर्दाको लवाज र मधेशमा विकृतिका रुपमा रहेको दहेज संस्कृतिका बारेमा सङ्केत मात्र दिएको छ । मधेसको केही संस्कार र संस्कृति थोरै भए पनि जानकी मन्दिरको परिवेशको चित्रण भएको भए सुनमा सुगन्ध हुने थियो । यस्तै नेवारी समुदायको यस्तै प्रकारको चित्रण भएको भए अझ राम्रो हुने थियो । साथै पोखरा र धरानको प्रसङ्ग पनि आएको छ तर त्यहाँको परिवेशलाई समेट्न सकेको छैन ।

कीर्तिपुर डेरा गरी बसेका विद्यार्थीहरुले भोगेको पीडासँगै त्यहाँको एक जना नेवार घरबेटीका बारेमा देखाइएको छ । घरबेटी महिना मर्नेवित्तिकै भाडा माग्ने गर्छ र नदिए ताल्चा लगाइदिन्छ । घरबेटीका नकरात्मक व्यवहारलाई बढी चित्रण गरिएको छ । नेवारी समुदायका केही संस्कार र संस्कृतिका पक्षमा केही सकारात्मक दृश्य दिन सकेको भए राम्रो हुनेथियो । 

अर्कोतर्फ एक एनजीओले विश्वविद्यालयबाट नै केटाहरु छानेर धनाड्य महिलाका लागि सप्लाई गरेको प्रसङ्गमा पोखराको जानुपर्ने प्रस्तावसमेत आएको छ । 

त्यसमा पोखराको सुन्दरता फेवाताल, माछापुछ«ेको छाया, पर्यटकीय स्थलहरुका बारेमा थोरै भए पनि परिवेश देखाइएको भए राम्रो हुने थियो । विदेश प्रदर्शनमा विदेशीले पनि चलचित्रबाट नेपाल बुझ्न सक्थे ।
धरानको प्रसङ्ग पनि त्यतिकै आएको छ, त्यसमा पनि भेडेटार लगायतका स्थानका बारेमा केही दृश्य देखाउन सकिएको भए अझ राम्रो हुने थियो । नेपालका यति सुन्दर सुन्दर ठाउँहरु छन् त्यहाँका केही दृश्यहरु देखाउँदा अझ राम्रो हुनेथियो । चलचित्रमा केही दृश्य अनावश्यक र क्लाइमेक्स पट्यार लाग्दो छ ।

सन्देश
गलत कामको गलत परिणाम भोग्नुपर्छ भन्ने विषय चलचित्रको मुख्य सन्देश हो । यसमा व्यावहारिक जीवनका लागि शिक्षा, रोजगारी र धनसम्पती अनिवार्य हो । तर गलत तरिकाले आर्जन गरे त्यसको परणिाम नराम्रै हुन्छ भन्ने देखाइएको छ । त्यस कुरालाई बीएको प्रमाणपत्र किन्दाको दलाल भागेको, घरमा लुटेको पैसाले ज्यान जोखिममा परेको दृश्यबाट प्रष्ट्याइएको छ । जानी नजानी गरिएको राम्रो कामको परिणम पनि राम्रो आउँछ भनेर देखाइएको छ । 

अभिनय 
चलचित्रमा मधेसी पात्र उदितनारायण झा बनेका रवीन्द्र झा र सनी डन बनेका माओत्से गुरुङको अभिनयको तारिफ नगरी रहन सकिन्न उनीहरुलाई पछ्याउने काम अनुप बरालले गरेका छन् । थमनबहादुर थापा बनेका सन्दिपको अभिनय पनि सुहाउँदो लाग्छ । हिरो बन्ने उद्देश्य बोकेका चलचित्रमा सबैभन्दा राम्रो निरजको भूमिका पाएका आयुष्मान देशराज जोसीले आफ्नो भूमिकामा न्याय गर्न सकेका छैनन् । तीन अभिनेत्रीमध्ये सुरक्षा पन्तको अभिनय राम्रो छ । अन्य दुई अभिनेत्री प्रियङ्का र परमिताको अभिनय पत्र अनुसार सुहाउँदो छ । आवश्यक नभए पनि ४, ५ गीत थोपार्ने प्रवृत्तिबाट मुक्त चलचित्रका गीतसङ्गीत कथा सुहाउँदा र राम्रा छन् । अभिनेत्री बेनिशा हमाल, श्रचा शर्मा र निश्चल बस्नेतले छोटो भए पनि सम्झन लायक भूमिका पाएका छन् । 
द्वन्द्व सामान्य नै छ । गहिरिएर केलाउने हो भने छायाङ्कन पक्ष कहीँ कही खोट लाग्न सक्छ तर दर्शकले भेट्टाउँदैनन् । 

निष्कर्ष 
चलचित्रमा केही प्राविधिक र निर्देशकीय कमजोरी भए पनि ‘चङ्गा चेट’ हेर्नैपर्ने चलचित्र मध्येमा पर्छ । यस आलेखमा नसमेटिएका धेरै रोमाञ्चक परिदृश्यहरू त्यहाँ भेटिन्छ । यसले वर्तमान समयमा युवाको आवश्यकता के हो ? उनीहरु के चाहन्छन् भन्ने कुरा समेत खोतल्न खोजेको छ । 
 

मोहन दाहाल

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालका १० लोकप्रिय भारतीय सेलिब्रेटी

  २०७५ कार्तिक २८ बुधबार काठमाडौं । प्रयेक वर्षजस्तै सन् २०१७ को डिसेम्बरमा फोर्ब्सले भारतका १०० सेलिब्रेटीको  विवरण सार्वजनिक गरेको थियो ।

प्रियंका र निकको विवाह बारे यस्तो खुलासा, सुनेर तपाई पनि दंग पर्नुहुनेछ

    यती बेला चर्चित बलिउड एंव हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोनसको बिहेको कुराले मेडियामा ठुलो स्पेस पाईरहेको छ । भारत मात्र

रणवीर र दिपिकाको विवाहमा मोबाईल बोक्न नपाईने

   बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको विवाह मिति नजिकीदै छ । र, उनीहरु त्यहीँ अनुसार तयारी गरिरहेका छन । दीपिका र रणवीरको विवाह