पटिहानी क्षेत्रमा ठूला लगानीका होटल खुल्दै

चितवन, १७ मङ्सिर

 अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी जिल्लाको पर्यटकीय गन्तव्य पटिहानीमा ठूला होटल बन्ने क्रमले तीव्रता पाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको पटिहानी सरकारले घोषणा गरेका एक सय गन्तव्यमध्येको एक हो । 

पटिहानीमा ‘रिभरसाइट रोयल गार्डेन रिसोट’ (आरआरजीआर) मा सार्क सम्मेलन गर्न मिल्ने गरी सुविधासम्पन्न सात भिल्ला सहितको होटल निर्माणाधीन छ । होटलका अध्यक्ष कल्याण जोशीका अनुसार चार भिल्लाको निर्माण अन्तिम चरणमा पुगेको छ भने तीन भिल्ला थप गरिँदै छ । उहाँले भन्नुभयो, “सार्क शिखर सम्मेलन जस्ता ठूला कार्यक्रमलाई लक्षित गरी होटलमा सुविधा दिइँदै छ ।” 

वैशाखदेखि सञ्चालन गर्ने गरी निर्माणको क्रममा रहेको आरआरजीआर रिसोर्टमा रु एक अर्ब लगानी हुँदैछ । चितवनका १२ सहित १८ जनाको लगानीमा बन्न लागेको रिसोर्ट पाँच बिघा क्षेत्रमा फैलिएको छ । होटलका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटलमा आर्कषकरूपमा सजाइएका ‘स्पेशल रुम’ (विशेष कक्ष) बन्नेछन् । गत फागुनबाट निर्माण शुरु भएको होटलको २४० जनालाई बास दिने लक्ष्य छ । वैशाखसम्म सात भिल्ला र ४२ कोठा तयार हुनेछन् । 

हरेक भिल्लामा पौडी पोखरी हुने उहाँले जानकारी दिनुभयो । छ सय जना अट्ने सभाहल र एक हजार एकसाथ बसेर खान मिल्ने रेष्टुरेन्ट तयार गरिँदै छ । उक्त क्षेत्रमा चितवन जङ्गल लज र रिभर बैंक जङ्गल रिसोर्ट निर्माणाधीन छन् । यस्तै चारवटा पर्यटकीयस्तरका होटल निर्माण हुँदैछन् । राप्ती किनारमा बिघौँ जग्गा खरीद गरेर रिसोर्ट बनाउने होडबाजी नै चलेको छ । 

भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले तीनतारे चार र पर्यटकीय एकदर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेको बताउनुभयो । उहाँले राप्ती किनारमा जग्गा खरीद गरेर बसेका होटलको नक्साङ्कनमा लागिसकेको बताउनुभयो । हालसम्म सो क्षेत्रमा पर्यटकीय होटलमा रु पाँच अर्बभन्दा बढी लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । 

पटिहानी क्षेत्रमा पहिलोपटक विसं २०४९ मा ९८ जना क्षमताको नारायणी सफारी होटल सञ्चालनमा आएको थियो । यसले झण्डै १२ बिघा क्षेत्रफल ओगटेको छ । पटिहानीमा निर्माणको क्रममा रहेको ६० जना क्षमताको चितवन जङ्गल लज तीन बिघा १० कठ्ठा क्षेत्रफलमा छ । चार बिघा १० कठ्ठा क्षेत्रफलमा बनाउन लागिएको रिभर बैंक जङ्गल रिसोर्ट ९० जना क्षमताको हुनेछ । ती दुवै होटलको निर्माणको काम तीव्र गतिमा अघि बढेको महत्तोले बताउनुभयो । 

यसका साथै यहाँ तीन बिघा १० कठ्ठामा ६८ जना क्षमताको कसरा रिसोर्ट, चार बिघा १० कठ्ठामा ५५ जना क्षमताको जङ्गल भिल्ला, एक बिघामा ३० जना क्षमताको ‘इन्टु द वाइल्ड इको’ रिसोर्ट, पाँच बिघामा ५८ जना क्षमताको जगतपुर लज, चार बिघा १० कठ्ठा क्षेत्रफलमा ६० जना क्षमताको टाइगर ल्याण्ड सफारी सञ्चालित छन् । यसका अतिरिक्त १० भन्दा बढी साना होटल सो क्षेत्रमा रहेका छन् । 

महतोले राप्ती नदी किनारमा रहेका जग्गाधनीलाई भेट गरी होटल र रिसोर्ट निर्माण गरिदिन आग्रह गरेको बताउनुभयो । सोही आग्रहलाई स्वीकार गर्दै चारजना प्रतिष्ठित व्यक्तिले होटल निर्माणको तयारी गरिरहेको उहाँले बताउनुभयो । 

सरकारले भ्रमण वर्ष २०२० लाई लक्षित गरी एक सय पर्यटकीय गन्तव्यको सूचीमा पटिहानी क्षेत्रलाई राखेपछि यहाँ पर्यटन गतिविधि बढेको हो । पटिहानी क्षेत्रमा रु पाँच करोड लागतमा थारु सङ्ग्रहालय, रु दुई करोड ५० लाख लागतमा ‘सन सेट भ्यू प्वाइन्ट विथ अम्ब्रेला स्ट्रिट’ निर्माण हुँदैछ । यस्तै मौलिकता जगेर्ना गर्न ‘थारु कल्चरल भिलेज थारु सांस्कृतिक गाउँ)’ बनाउने योजना बनेको छ । 

क्षेत्रीय होटल सङ्घ पश्चिम क्षेत्र कसरा इकाइका संयोजक गणेश पौडेलले यस क्षेत्रको पर्यटकीय सम्भाव्यता प्रचुर रहेकै कारण ठूला पर्यटकीय होटल खुल्ने क्रम बढेको बताउनुभयो । उहाँले पटिहानीको वनकट्टा, पटलहरा, घटगाई, धनौजी, पकडी, बरौजी, कुमिया, पुल्लर लगायतका बस्ती थारु भाषाबाटै नामाकरण भएको बताउनुभयो । 

ती समुदायले तयार पार्ने परम्परागत खाना, हस्तकलाका सामाग्रीसँगै सांस्कृतिक कार्यक्रमले पर्यटकलाई लोभ्याउने गर्दछ । पर्यटकलाई डुलाउन वनकट्टामा निजी नौ वटा गोरुगाडा, होटल तथा रिसोर्टका १३ वटा निजी जिप प्रयोग हुँदै आएका छन् । पाँच होटलले १२ वटा निजी हात्तीमार्फत पर्यटकलाई घुमाउने गर्छन् । बेलशहर र वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनका जैविक मार्गमा पर्यटक रमाउने गर्छन् । पटिहानी आउने पर्यटकले कमल पोखरी, छितामाई, विक्रमबाबा, निकुञ्जकोे गिद्ध, गोही र हात्ती प्रजनन केन्द्र सहजैै घुम्न पाउँछन् । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यस क्षेत्रमा लगानीको वातावरण तयार पार्न लागिपरेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले महानगरका तर्फबाट गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये महानगरको पटिहानी क्षेत्र पार्नु आफैमा महत्वपूर्ण भएको भन्दै नमूना पर्यटकीय क्षेत्रको रुपमा पटिहानीलाई विकास गर्नुपर्ने बताउनुभयो ।  (रासस)

प्रतिकृया दिनुहोस

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २ पुस नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै

भरतपुरमा गणेशधाम बन्दै

भरतपुर, १ पुस भरतपुरमा गणेशधाम निर्माणका लागि रु १० करोड ८० लाख अर्थ सङ्कलन भएको छ । गत मङ्सिर २२ देखि २९ गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत

राप्ती नदीतटीय क्षेत्रलाई प्रदुषणमुक्त बनाइने

पटिहानी  राप्ती नदी तटीय क्षेत्रलाई प्लाष्टिकमुक्त र प्रदुषणमुक्त बनाउने उद्धेश्यले शनिबार सरसफाई कार्यलाई निरन्तरता दिइएको छ । नदी किनारमा