इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

 

 

 

सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल


 

कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्।

नाटकको शक्ति के भने, यसले दृश्यलाई शब्द बनाउँछ। दृश्य नबुझ्नेले शब्द बुझ्छन्।

कहिलेकाहीँ कथा र नाटक सँगै हिँड्छन्। त्यतिबेला शब्द र दृश्यको संयोगले दर्शक, पाठक वा श्रोतालाई आफूसँगै हिँडाउँछ।

‘योनीका कथाहरू’ मा जस्तै।

यसमा शब्द र दृश्यको संयोगले महिलामाथि हुने हिंसामा दर्शकहरु नाटक सँगसँगै हिँड्छन्।

यहाँ योनी एक्लो छैन। उसलाई सताउनेहरू छन्। उसलाई नबुझ्नेहरू छन्। बुझेर बुझ पचाउनेहरू पनि छन्।

‘योनीका कथाहरू’ मा एक अंगका आँखाबाट त्यो अंगसँग जोडिएका शारीरिक र मानसिक पत्र उप्काउने प्रयास गरिएको छ।

यो अमेरिकी नाटककार इभ इन्सलरद्वारा लिखित ‘भजाइना मोनोलग’ को नेपाली संस्करण हो।

लेखिका सामान्ता हार्बेले मोनोलगबारे भनेकी छन्, ‘मोनोलगमा हुने सबैभन्दा अस्थिर विशेषता नै यसको चकमन्नता हो।’ अर्थात्, वाक्यका बीचमा हुने लामो रोकावट, जसले पात्रलाई बोल्नबाट रोकेर दर्शकलाई सोच्ने ठाउँ दिन्छ।

‘योनीका कथाहरू’ त्यस्तै छ।

यसमा पात्रहरू कुर्सीमा आउँछन्, बस्छन् र आफ्नो कथा सुनाउँछन्। ती कथा धेरैजसो पीडाका छन्। हरेक पात्रले कथा भनिरहँदा बीचबीचमा आउने चकमन्नताले दर्शकको दिमाग हुत्त्याएर पत्रपत्रिकामा छापिएका महिला हिंसा तथा बलात्कारका घटनामा पुर्याउँछ। योनीले भोगेका असामान्य परिस्थितिका कथा भनिँदै जाँदा दर्शकलाई आत्ममूल्यांकन गर्न बाध्य पार्छ।

एउटा पात्रले कुर्सीमा बसेर कथा सुनाइरहँदा पछाडि बसेका बाँकी पात्र त्यसलाई महशुस गर्छन्। अगाडि बोलिरहेका पात्रको हरेक भावसँग तिनको भाव मिल्छ। ऊ रिसाउँदा तिनका आँखामा क्रोध चम्कन्छ। ऊ हाँस्दा तिनका ओठ पनि मुस्कुराउँछन्। ऐक्यबद्धताको त्यो दृश्य नाटकमा महत्त्वपूर्ण छ, जो पटकपटक दोहोरिन्छ।

मान्छेले कथा कहिले सुनाउँछ? मान्छे कहिले भक्कानिन्छ? ऊ आफूजस्तै मान्छे किन खोज्छ?

‘योनीका कथाहरू’ हेरिसकेपछि यी सबै प्रश्नको जवाफ पाइन्छ।

कथा सुनाएपछि मन हलुका हुन्छ। आफूजस्तै पीडा भोगेका मान्छे भेटेपछि ढाडस मिल्छ। कथा सुन्ने मान्छेले उक्त कथा महशुस गरिदिए वा ताली बजाइदिए पात्र बलियो हुन्छ। त्यसैले त मञ्चमा पात्रहरू एकअर्कालाई अँगालो मार्छन्। आपसी पीडा महशुस गर्छन्। र, त्यसविरूद्ध एकजुट भएर कराउँछन् पनि।

यहाँ नाटक प्रतीकात्मक छ। मञ्चमा कथा सुनिरहेका पात्र कथा सुनाउने पात्रलाई ढाडस दिन्छन्। हाम्रो समाजले भने कथा भोग्ने पात्रलाई थप पीडा दिन्छ। नाटकमा त्यो समाजप्रति आक्रोश देखिन्न, बरु बलियो आग्रह देखिन्छ। त्यसैले त, कथा सुनाउँदै गर्दा पात्रहरूले दर्शकको सहभागिता खोज्छन्। बीचबीचमा दर्शकतिर फालिएका प्रश्न त्यसैका उपज हुन्। तिनले योनीको समस्या र पीडा सबैले महशुस गरून् भन्ने चाहन्छन्।

मञ्चको ठिकमाथि धेरै वस्तु झुन्डिएका छन्- चक्कु, खुकुरी, काइँयो, कप, पेटी, मग, कैंची, बिजुलीको तार आदि आदि। ती सबै वस्तु कथाहरूसँग कुनै न कुनै रूपमा जोडिएका छन्। कथाहरूको तीसँग नमिठो दुश्मनी छ। दुश्मनी के र किन भन्ने योनीलाई थाहा छैन। ती वस्तुलाई उनीहरूविरुद्ध प्रयोग हुनू भनेर कहिले भनियो, त्यो पनि थाहा छैन।

कथाको बीचबीचमा पात्रहरूले ती वस्तुबारे कुराकानी गर्छन्। ती मञ्चमाथि झुन्डिएका छन् वा भनौं शरीरमाथि झुन्डिएका छन्। हामीसँग तिनलाई निकालेर फ्याँक्ने चुनौती अझै बाँकी छन्।

नाटकले योनीलाई पीडितको संकेतका रूपमा देखाएको छ। योनी पीडित हुनु भनेको के हो भन्ने गहिराइ एउटा बच्चा जन्मिएको कथामा झल्किन्छ। योनीमार्ग हुँदै बच्चाको जीवन कसरी संसारसम्म आइपुग्छ भन्ने कथा बलियो छ। यसले सबैलाई हाम्रो जीवनको सुरुआतमा लिएर जान्छ।

बच्चा जन्मिएको समय सम्भवत: सबैभन्दा धेरै पीडा भोग्नुपर्छ योनीले। तै त्यो पीडा अरूजस्तो कठोर छैन। त्यो पीडा नयाँ संसार सिर्जनाको पीडा हो। कथाको सार के भने, योनी पीडादेखि डराएको हैन, पीडाको प्रकृतिदेखि डराएको हो। पीडा दिने व्यक्तिको नियतदेखि डराएको हो। त्यो नियत विभिन्न कारणले खराब हुँदै गएको छ।

रान गाब्रेलीले ‘ह्वाइ आई स्टप्ड वाचिङ पोर्न’ नामको टेड टकमा भनेका छन्, ‘मैले पोर्न हेर्न छाडेँ, किनकि यसले मेरो कल्पनालाई हिंस्रक बनाउँदै लग्यो।’

‘योनीका कथाहरू’ मा सबैभन्दा पहिला सुनाइएको कथाको पात्रलाई श्रीमतीले योनीको रौं नकाटेको मन पर्दैन। त्यो उसको व्यक्तिगत रुचिको विषय हुन सक्छ। यो पनि सम्भव छ, ऊ त्यस्तै कुनै बाह्य तत्त्वको सिकार भएको होस्। नाटकले त्यस्ता खाले बाहिरी तत्त्व र तिनको असरलाई जरैसम्म हल्लाउने कोशिस गरेको छ। असंवेदनशील हुँदै गएको समयलाई संवेदनशील बनाउने प्रयत्न गरेको छ।

अमेरिकामा लेखिएर यहाँसम्म आइपुग्दा अनुवाद र फरक परिकल्पनाले नाटकको स्वरूपमा केही परिवर्तन भएका छन्। समानता के छ भने, सबैतिर योनीहरू सताइएका छन्। योनी भएकै कारण महिला सताइएका छन्। इतिहासदेखि वर्तमानसम्म सताइएका छन्।

यो नाटकले प्रभाव पारेको एउटा घटना बेलायती पत्रिका ‘द गार्डियन’ ले छापेको थियो।

सन् २००२ मा यो नाटक अमेरिकी कंग्रेस र सिनेटमा देखाइयो। यसको उद्देश्य ती पुरुष नेताहरूलाई सचेत गराउनु थियो, जो घरेलु हिंसा र यौन बेचबिखनसम्बन्धी १० वर्ष पुरानो कानुन संशोधन गर्न लागिरहेका थिए। नाटकको प्रभावले उक्त कानुन पालना भयो।

मलाई थाहा छैन, यो नाटकका विगतका तीन शृंखला क-कसले हेरे? त्यसरी हेर्नेमा कानुन निर्माण गर्न बसेकाहरु परे कि परेनन? म नाटक हेर्न गएको दिन धेरै दर्शक पुरूष थिए। उनीहरू योनीका कथा सुनेर पक्कै आफूभित्रको पुरुषवादी सोचाइमा घोरिए होलान् भन्ने विश्वास गर्छु। नाटकको अन्तमा पुरुष पात्रको ‘म यस्तो पुरुष बन्न सकूँ’ भन्ने कविताले आजको समाजमा पुरुषहरूबाट के आउन जरुरी छ भन्ने उजागर गरेको छ।

सँगै एउटा प्रश्न पनि आउँछ। योनीप्रति यति धेरै आक्रमण किन भएको हो? त्यो के हो, जसले एउटा लिंगलाई अनपेक्षित लाभ दिएर अर्को लिंगलाई सताउने अधिकार दिएको छ। त्यो के हो, जसले एउटा लिंगलाई हिनताबोध र अर्कोलाई बहादुरीको संकेत भनेर बुझाइरहेको छ?

‘योनीका कथाहरू’ ले यस्ता संरचनागत प्रश्नको जवाफ खोज्दै जान्छ। जवाफ भेट्छन् कि भेट्दैनन्, त्यो दर्शकमा भर पर्छ। ती जवाफ विश्लेषण भएर छरिन थाल्नुपर्छ। तिनले समाजको मुकुन्डो उतार्न थाल्नुपर्छ।

नाटकले ती कुरा सुनाउँछ, जुन अक्सर सुनाइँदैन। यसले महिलालाई आफ्नो अंगप्रति गर्व गर्न सिकाएको छ। योनी हुनु हिनताबोध हैन, बरु योनीको सम्मान नगर्नेले हिनताबोध गर्नुपर्ने सन्देश छाडेको छ।

नाटकले हाम्रो समाजका विभिन्न पात्रको कथा बोल्छ। पाठेघर फ्याँकेका महिलादेखि योनीका कारण समस्या भोगेका महिलासम्मको कथा भन्छ। बलात्कृत भएर अस्पताल भर्ना भएकी युवतीलाई समेट्छ। पुरुष भएकै कारण अपराध गर्ने लाइसेन्स पाएसरी व्यवहार गर्नेलाई भन्छ, ‘मेरो छोटो स्कर्टको अर्थ तिमीलाई बलात्कार गर्ने निम्तो हैन।’

यति हुँदाहुँदै जसरी ‘भजाइना मोनोलग’ को पटकथा गतिशील छ, त्यही रूपमा गतिशीलता नआएजस्तो लाग्छ। यसलाई अझै नेपाली सन्दर्भमा ढाल्ने ठाउँ थियो। नेपाली योनीहरूले भोगेका अरू समस्या बटुल्ने र सुनाउने ठाउँ थियो।

यौन सम्पर्क बेलाको चिच्याहटको दृश्य अनावश्यक भद्धा छ। त्यो प्रसंग मोनोलगमा चाहिएको थियो कि थिएन, मलाई थाहा छैन। तर, त्यस बेला बजेका ताली र सिट्टीले समग्र मोनोलग कमजोर बनाएको छ। त्यसले नाटकहलमा पर्याप्त हाँसो त छरेको छ, तर त्यो हाँसो दर्शकले घर फर्किँदा सम्झिने पक्कै हैन। बरु ‘त्यस्तो आनन्दको चित्कार त सर्प्राइज भएर आउने रहेछ’ भन्ने प्रसंगमा उक्त दृश्य सकिएको भए गहन अर्थ दिन सक्थ्यो।

एउटा कथामा श्रीमानले दु:ख दिएको प्रसंग अतिरञ्जित गरेजस्तो लाग्छ। हामी अक्सर कुनै कुरामा कसैलाई दोष दिन अगाडि सरिहाल्छौं। त्यसले खास समस्या समाधान गर्दैन। ‘योनीका कथाहरू’ ले धेरै ठाउँमा ठूलो समस्या देखाएर दोषी किटान गरेको छ। त्यसो हुनुको सट्टा को दोषी होलान् भन्ने देखाउन खोजेको भए त्यस्ता पात्र पनि देखिन सक्थे, जसलाई धेरैले समस्या मानेका हुँदैनन्। तिनले समाजमा ठूलो बाधाको भूमिका भने खेलिरहेका हुन्छन्।

अनुवादका निश्चित सीमा पक्कै हुन्छन्, तर गतिशीलता दिने ठाउँ थियो। यसलाई अमेरिकाका दर्शकमाझ मञ्चन गरिएको शैलीभन्दा नेपाली शैलीमा ढाल्नु जरुरी थियो। नेपाली समाज र अमेरिकी समाज फरक छ। यहाँ संयुक्त परिवार छ। सामाजिक उँचनिच छन्। प्याड लगाउन नपाउने समस्या छन्। छाउपडी छन्। त्यो सेटिङमा योनीका कथाहरू आएका भए गाडी चढेका बेला चुम्बन गरेका दृश्यभन्दा शक्तिशाली हुने थिए। त्यसले मुकुन्डोमा लुकेका अनुहार कुनै लिंग हैनन्, प्रवृत्ति हुन् भन्ने सन्देश दिने अवस्था सिर्जना हुन्थ्यो।

लेखक इभ इन्सलरले भनेकी छन्, ‘यो नाटक योनी हुनु भनेको के हो भन्ने विषयमा केन्द्रित छ। यसको मतलब योनी भएकी महिलाको परिभाषा हैन।’

यस अर्थमा यसले नेपाली समाजमा योनी हुनु भनेको के हो त भन्ने पक्षमा काम गरेको भए सन् १९९६ मा अमेरिकाबाट सुरु भएको ‘भजाइना मोनोलग’ नेपालबाट नयाँ उचाइमा जाने थियो।

यसले योनीको सिमानामा नपर्ने र योनीमार्फत् परिचित हुन नचाहने व्यक्तित्वलाई समेटेको छैन। त्यसलाई समालोचक क्रिस्टिन कुपरले ‘योनीको विम्ब नै ध्वस्त हुने डर लाग्यो’ भनेकी थिइन्। उनले भनेजस्तै नाटकले पनि योनीलाई ‘विम्ब’ बाट केवल ‘योनी’ मा सीमित हुनबाट जोगाउनु जरुरी छ। विम्ब हराएपछि नाटकको उमेर घट्छ। र, त्यति नै जरुरी छ विम्बलाई सबैले बुझ्ने बनाइराख्नु।

‘भजाइना मोनोलग’ नेपालमा प्रस्तुत हुनु ठुलो कुरा हो, तर नेपाल काठमाडौं मात्र हैन। सहर मात्र पनि हैन। यसले दिन खोजेको सन्देश र चेतना बाँकी ठाउँसम्म कसरी पुग्छ? यसमा भनिएका कथाका वास्तविक पात्रले कसरी सामाजिक न्याय पाउँछन् भन्ने ठूलो चुनौती छँदैछ। जे भइरहेको छ त्यसले अपेक्षा पक्कै बढाएको छ। किनकि, ‘भजाइना मोनोलग’ अमेरिकी समाज र रंगमञ्चमा ठूलो क्रान्ति ल्याएको कृति हो।

नाटकको अन्तिमको कविताले भनेजस्तै म पनि त्यस्तो पुरुष बन्ने कोशिस गर्नेछु ‘जो हडप्दैन बरु अवसर बाँडिरहन्छ, र बहस सुन्न मनको दैलो  खुल्ला राख्छ।’

प्रतिकृया दिनुहोस

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं बादल  उछिनेर कैयौं

शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई

ईन्द्र रेग्मीको कृति लोकापर्ण 

भरतपुर । साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको शनिबार बिमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल