शङ्काले जलाएको मन कथा

संसारमा सबैभन्दा गाह्रो कुरा भनेको गोप्य कुरालाई रहस्य बनाई लुकाई राख्नु हो । मेरो जीवनमा पनि रहस्य छन् । जुन म खोल्न चाहदिनँ । अस्ति सूचना भेटिएकी थिई । भन्दै थिई, मेरो बारे कथा लेख्न चाहन्छे । म उसलाई सीधै इन्कार गर्छु । ऊ अनुहार खुम्च्याउँदै छुटिन्छे । मेरो मत परिवर्तन भएमा खबर गर्नु भन्छे । हिजो राति छोरीले कथा सुनाउनुभन्दा याद आयो । सूचनाले मेरो बारे लेख्न खोजेको कथा कुन होला ? कतै मैले सुनाउन नचाहेको रहस्य त होइन । ममा शङ्काका बादलहरू रुमल्लिन थाल्छन् । अनि म उसलाइ बोलाउन पुग्छु ।

ऊ उत्सुकता बोकेर आइपुग्छे । ऊ नाना तरहका प्रश्नहरू तेस्र्याउँछे । म संयमित भई भावुक पारामा उत्तर दिइरहन्छु । उसका आँखा चम्किन्छ्न, माथ हल्लिन्छ । लाग्छ, ऊ मेरो उत्तरमा सन्तुष्ट छे । उसले खोजेको कुरा पाएकी छे । हाम्रो गफगाफमा भर्खर अफिसबाट फर्केका मेरा श्रीमान सामेल हुन्छन । सूचना मेरो तारिफ गर्छे, छोरीको सुन्दरताको बयान गर्छे र ऊ फर्कन्छे । मेरा श्रीमान उसको बारेमा चासो देखाउँछन । उसले लेख्न खोजेको विषयवस्तु सोध्छन् । ‘श्रीमान श्रीमतीको सम्बन्ध कसरी मजबुत हुन्छ भन्ने बारे रे ।’ लेख्ने ऊ भन्ने तिमी ! कस्तो बन्ला त्यो ? उनी हाँस्छन् । उनको हँसाइमा कपटता झल्किन्छ । 
म सूचनालाई नभेट्ने निर्णयमा पुगेको छु । उसले कथा जस्तोसुकै लेखोस्, नपढ्ने योजना बनाएको छु । मोबाइल चलाउँदै गर्दा सम्झिन्छु । मैले फेसबुक चलाउँदा उसले चिहाएकी थिई । भिडियो राम्रो लाग्यो दिदी भनि मोबाइल लिएकी थिई । मैले म्यासेज मेटेको थिइनँ । के उसले त्यो देखी होला ? फेरि मेरो फोन आउँदा हाँस्दै सोधेकी थिई– कसको फोन ? कस्तो जान्ने हुनुपर्ने उसलाई । न उसको म आफन्त हुनु न साथी ! तैपनि ऊ मलाई चिप्लो घसी–घसी किन दिदी भनी बोलाउँछे ?

म उसलाइ फेरि फोन गर्न पुग्छु । कथाको अपडेट लिन्छु । ऊ परीक्षामा व्यस्त भएको बताउँछे । कथाका लागि विषयवस्तु नपुगेको जनाउँछे । मेरो शङ्का निवारण गर्न, भेट्ने इच्छा रहेको बताउँछु । ऊ सहर्ष स्विकार्छे । म फोन राख्छु । मेरो जीवनको पहिलो प्राथमिकता भनेको श्रीमान र छोरी हुन् । मैले उसलाई भनेको कुरा साँचो थियो । फरक यति हो, म खुशी हुन र उनीहरूलाई खुशी बनाउन, मैले गरेको सङ्घर्ष पूरै रूपमा बताएको छैन । जुन कुरा म बताउन चाहदिनँ । 

पानी सिमसिम परिरहेको छ । सूचना आइपुगेकी छैन । म क्याफे बाहिर चिहाउँछु । ऊ दगुर्दै आइपुग्छे, पानी टक्टक्याउँछे, छाता नल्याएको गुनासो गर्छे र विपरीत सिटमा गई बस्छे । ऊ बाहिर हेर्दै भन्छे । पानी परेको साह्रै मन पर्छ । उसको जीवनमा पानीसँग घटेका घटना सुनाउन थाल्छे । म जान्दिनँ, ऊ किन यी कुरा सुनाउँदै छे । फेरि ऊ बोल्न छाडी बाहिर हेर्न थाल्छे । पानी बेस्मारी दर्केर पर्न थाल्छ । चिया आइपुग्छ । हामी दुवैजना आआफ्नो संसारमा हराउँदै चिया पिउँछौँ । 

ऊ चिया सकिएपछि बोल्छे । कहिले कहिले लाग्छ मानिस समाजको बन्दी हो । ऊ समाजलाई देखाउन बनावटी हाँसो र क्रियाकलाप गर्न थाल्छ । पछि गएर आफूले खनेको खाल्डोमा आफै पर्छ । म पनि उसको कुरामा सामेल हुन्छु । मानिस भेडो जात हो, नबोली केही बुझ्दैन । मानिस अद्बेस्रो छ, नसुनाई मनको कुरा जान्दैन ।

ऊ बहसलाई लम्बाउँछे । मानिसलाई हेर्दा उसको अनुहारको भाव पढ्न नसके पनि उसको हर सोचाइलाई आत्मसाथ गर्न तयार छु । मलाइ उसले भनेको कुरा पत्यार लाग्दैन । त्यसैले म सोध्छु– ‘मेरो ब्याइफ्रेन्ड रहेछ भने पनि ?’ ऊ आँखा नझिम्काई नौलो कुरा नरहेको बताउँछे । म रहस्य खोल्न चाहन्नथें । तर, ऊ केही नभएको बाहना गर्छे । म उसलाई मैले भनेको कुरा साँचो भनी बताउँछु । उसका आँखा ठूला हुन्छन् । उसको बोली फुट्दैन । 

सूचनाले देखाएको प्रतिक्रिया नै समाजको प्रतिक्रिया हुनेछ । रहस्य फुत्केमा एकैछिनमा म भिलेन हुनेछु । मेरो श्रीमान र छोरी बिचरा पात्र बन्नेछन् । श्रीमानको प्रतिक्रिया त झन् म कल्पना गर्न पनि सक्दिनँ । जसले गर्दा म लुकाउन बाध्य छु । म सामान्य जीवन बिताउन चाहन्छु । मैले यो यथार्थ लुकाउन पल पल लड्दै, सङ्घर्ष गर्दै आएको छु । मेरो कठिनाइलाई बढाउन सूचना आइपुगेकी छे । 

सूचना नबोली खाजा खान थाल्छे । म उसलाई सम्झाउँ वा केही नबोलौँ अलमलमा पर्छु । उसको फोन आउँछ । ऊ फर्कन हतारिन्छे । ऊ फर्कन्छे । सात वर्षअघि गाडीमा भेटेएकी सूचना, सधैँ मेरो फ्यान थिई । ऊ सधैं मलाई भन्ने गर्थी । ‘दिदी म तपाईंलाई सम्मान गर्छु । कसरी मात्र परिवार, पढाइ, काम सब हेर्न भ्याउनु हुन्छ ।’ ऊ सप्तरी गएदेखि हाम्रो सम्बन्ध छुटेको थियो । फर्केर आउँदा कथाकार भएको सुनाउँथी । ऊ मलाई प्रमुख पात्र बनाएर कथा लेख्न चाहन्थी । उसको कथाको प्रमुख पात्र म, नायिकाबाट खल नायिकातिर इमेज बदल्दै छु । अनि म आज उसको व्यवहारबाट तड्पिँदै छु । 

श्रीमानको फोन आउँछ । उनी घर ढिला आइपुग्ने जानकारी दिन्छन् । उनले फोन राख्ने बेला दिउँसो सूचना भेटेको सुनाउँछन । म उनीहरूबीचको कुराकानी जान्न उत्सुक थिएँ । उनी फोन राख्छन् । मलाई दोहोर्याएर फोन गर्न आँट आउँदैन । सूचनाले के भनी होला ? हुटहुटी चल्छ । म सूचनालाई फोन गर्छु । तीन पटकसम्म पनि सूचनाको फोन उठ्दैन । उसले किन फोन उठाइन ? के उसले मेरो रहस्य खुलाएको भएर फोन नउठाएको होला त ?

म अनेक तरहका परिस्थिति कल्पना गर्न पुग्छु । मलाइ रिँगटा छुट्छ । एकाएक आँशु बग्न थाल्छ । मैले त्यो सूचनालाई भेट्न हुने थिएन । मैले अहिलेसम्म अरूलाई नभनी लुकाएको रहस्य खोल्न हुने थिएन । होइन, सूचना भन्ने मान्छे यो पृथ्वीमा हुनु हुने थिएन । म पछुताउँछु । 

म अतालिँदै आकासलाई फोन गर्छु । हाम्रो सम्बन्ध खुलासा भएको दुखेसो पोख्छु । उनले मेरो सब कुरा सुनेपछि शङ्का मात्र रहेको बताउँछन् । सूचनाले पक्कै भनेको हुनु नपर्ने भनी थुम्थुम्याउँछन् । मैले आकाशलाई त्यो समयमा भेटेको थिएँ । जुन बेला मैले पढाइ र जागिर दुईमध्ये एक रोज्नुपर्ने भएको थियो । म दुवै छोड्ने पक्षमा थिइनँ । श्रीमान, परिवार र माइती मलाई धेरै लोभी हुन नहुने भनी सम्झाउँथे । छोरीलाइ हेरेर भने पनि निर्णय लिनुपर्ने भन्थे । छोरीलाई हस्पिटल भर्ना गरेको बेला मैले आकाशलाई भेटेको थिएँ । 

मैले त्यो बेला चाहेको भनेको मैले गर्न सक्छु भनी आड भरोषा दिने मानिस थियो । मैले अरूलाई सक्छु भने पनि म भित्रभित्र आतिरहेको थिएँ । मैले चाहेको भनेको मलाई उत्साह थप्ने मानिस थियो । अफिस जाँदा हतारिएर गाडीबाट लड्दा, अब अति भयो भयो भन्ने श्रीमान होइन, नआत्तिई सब ठीक हुन्छ भन्ने श्रीमान थियो । प्रत्येक गल्तीमा मेरो निर्यण खोज्ने श्रीमान होइन, मेरो कदममा साथ दिने श्रीमान थियो । बोलाउँदा जी र तपाईं लगाउने श्रीमान होइन, मेरो रुवाइमा, सङ्घर्षमा साथ दिने श्रीमान थियो । छोरी रुँदै पछि लाग्दा कस्तो निष्ठुरी आमा भन्ने परिवार होइन । कति दुःख गर्न सक्ने मान्छे रहिछे भन्ने परिवार थियो । 
ती सबै चाहेको शब्द, आड भरोसा मैले आकाशबाट पाएँ र उनको नजिक भएँ । हामीले टाढिन नखोजेको होइन । जीवनमा आइपर्ने दुःख, गुनासो पोख्न हामी एकअर्कालाई खोज्न पुग्थ्यौँ । मैले श्रीमानको आँखामा हेर्दा पश्चताप नगरेको होइन । छोरीलाई हेरेर परिवार तोड्नु हुँदैन भनेर नसोचेको होइन । जसको कारण आजसम्म पनि मैले लुकाइरहेको छु । तर यही बीचमा सूचना आइपुगेकी छे ।

बेलुका म कुन बेला निदाएँ, कुन बेला श्रीमान आइपुगेँ चाल पाइनँ । बिहान ब्युझिँदा उनी अफिस हिडिसकेछन् । उनी सधैँ मलाई बोलाएर मात्र अफिस जान्थे । फेरि आज किन उनले मलाइ उठाएनन् ? सूचनालाई फोन गर्छु । उसको मोबाइल स्विच अफ रहेछ । मलाई आफैं, श्रीमान, सूचना सबैदेखि रिस उठ्छ । त्यो रिस म छोरीलाई पोख्न पुग्छु । छोरी रुन्छे । मलाई फकाउन मन लाग्दैन । छोरी स्कुल जान्छे । म अफिसमा बिरामी भएको बाहना पारी बिदा लिन्छु ।

रहस्य नखुलाउँदा पनि पछुताइने र रहस्य खोलेपछि पनि पछुताइने रहेछ । म दिनभरी शङ्काको बादलभित्र मडारिरहन्छु । अकाशलाई पहिलो पटक फोन गर्दा पछिल्लो समय म धेरै शङ्कालु बनेको बताउँछ । दोस्रो पटक फोन गर्दा मेरो घरको समस्या रहेको जनाउँछ । म उसलाई फोन गर्न छाडिदिन्छु । म सूचनालाई फेसबुकमा म्यासेज छोड्छु । फिल्म, कथा, किताब, जे हेरे पनि, जे पढे पनि मन शान्त हँुदैन । 
श्रीमान चाँडै घर आइपुग्छन् । उनको निन्याउरो अनुहारले मलाई तर्साउँछ । म चियाको प्रस्ताव राख्छु, उनी भर्खर खाएको बताउँछन् । उनी टि.भी. खोलेर हेर्न थाल्छन् । म उनको हाउभाउ नियाल्न थाल्छु । उनी केही सम्झिएझैँ गरी टी.भी. बन्द गर्छन् र सूचनालाई भेटेको प्रसङ्ग निकाल्छन् । मलाई छट्पटी चल्छ । म चिच्याएर नसुनाउनु भन्न पुग्छु । खै कमजोर बनाउन हो या आपत मेटाउन हो या चिन्तालाई प्रष्ट्याउन हो, यस्तै बेला आँशु झर्न पुग्छ ।

धेरै दिनको मेरो तनाव आज छताछुल्ल हुन्छ । म उनलाई दोष लाउन पुग्छु । उनीसँग रहेको अहिलेसम्मको गुनासो पोख्न पुग्छु । त्यही भएर आकाशसँग मेरो सम्बन्ध रहेको भनी खुलासा गर्छु । म बोलिसकेर हेर्छु । उनी भावहिन अनुहार लिएर बसेका रहेछन् । अघिदेखि आइरहेको फोन उठाउन मन लाग्दैन । फोनको घन्टी सिद्धिएपछि म्यासेजको आवाज आउँछ । म्यासेज सूचनाको रहेछ । 

उसले केही नबताएको लेखेकी रहिछे । उसले अस्तिको व्यवहारका लागि माफ मागेकी रहिछे । उसले कथा लेख्दा, कथाको पात्रको मानसिक विश्लेषण गर्दा, उसलाई लागेको थियो रे । हरेकको भावनालाई आत्मसाथ गर्न सक्छे । यथार्थमा भावना आत्मसाथ गर्न समय र कारणको खुलासा चाहिने रहेछ रे । अनि मप्रति रहेको उसको सम्मान जस्ताको तस्तै छ रे ।

म फेरि उनलाई चिहाउन पुग्छु । उनको आग्निय आँखाले उनको मनस्थिति जनाउँछ । खै किन हो उनको बोली भने फुट्दैन । म नजर बाहिर डुलाउँछु । सडक बत्तिमा झुम्मेका कीरालाई नियालिरहन्छु ।

प्रतिकृया दिनुहोस

डा बालकृष्ण थापाको सम्झनामा डा सुजाता पन्तको कविता : बिरामी ईश्वर र स्वर्गमा डाक्टर

बिरामी ईश्वर र स्वर्गमा डाक्टर एउटा तेजिलो सूर्य थियो तपाईं हाम्रै छेउमा हिजो त्यही क्षितिजबाट उदाएको थियो छिचोलेर कैयौं बादल  उछिनेर कैयौं

इतिहासदेखि सताइएका ‘योनीका कथाहरू’

      सबै तस्बिर स्रोत: स्ट्रिट नेपाल   कथाको शक्ति के भने, यसले शब्दलाई दृश्य बनाउँछ। शब्द नबुझ्नेले दृश्य बुझ्छन्। नाटकको शक्ति के भने,

ईन्द्र रेग्मीको कृति लोकापर्ण 

भरतपुर । साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको शनिबार बिमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल